पुल एकातिर, खोला अर्कोतिर, यात्रुलाई सास्ती

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र २९ २០८០

बागलुङ, २९ भदौ – मुस्ताङको जोमसोम मुक्तिनाथ जोड्ने पक्कीपुल खोलाको भौगोलिक अवस्था अध्ययन नगरी निर्माण हुँदा यो मार्गबाट यात्रा गर्नेहरुले सास्ती व्यहोर्नु परेको छ । बर्खा याममा पूर्वतर्फबाट बग्ने लुप्रा पान्डा खोलाको बाहवले मुक्तिनाथ धाम र उपल्लो मुस्ताङको यात्रा कठिन हुनेगरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सीमाना लुप्रा पान्डा खोलाको मुख्य राजमार्ग सडकमा २०६९ मा कालिगण्डकी करिडोर (पाल्पा)ले पक्की पुल निर्माण थालेको थियो । यो पुल ६ वर्ष लगाएर ०७६ सालमा निर्माण सकिएको थियो ।

निर्माणकै क्रममा यो पुल पाल्पा करिडोरले राष्ट्रिय गौरवको बेनी—जोमसोम कोरला सडकलाई हस्तान्तरण गरेको थियो । तत्कालीन समयमा पाल्पा करिडोरका प्राविधिक इन्जिनियरहरुले पुल रहेको स्थानको भौगोलिक अवस्था र वैज्ञानिक प्राविधिक अध्ययन नगरी हचुवाका भरमा पुलको सर्वे तथा डिपिआर निर्माण गरेका थिए ।

अहिले लुप्रा—पान्डा खोला बाढी आउँदा पुल बेकाम बन्छ । पाल्पा करिडोरमार्फत ठेक्का आह्वान भएको यो पुल निर्माणको जिम्मा तत्कालीन समयमा ३ करोड ९० लाखमा लोकप्रिय शंकरमाली जेभीले लिएको थियो ।

भिरालो सतह, फराकिलो भूगोल भएकाले त्यहाँ करिब ३ सय मिटरको पुल आवश्यक पथ्र्यो । तर, त्यो बेला प्राविधिकले ५० मिटरको पक्की मोटरेबल पुलसहित ग्याबिन वाल लगाएर १ सय ५० मिटर एप्रोज सडक र २ वटा कल्र्भटको डिपिआर बनाएका थिए ।

खोलाको सतहको आकलन नगरी पुल बनाउँदा बर्खायाममा यहाँ सधै सास्ती हुन्छ । यो मुक्तिनाथ र उपल्लो मुस्ताङ जोड्ने मार्गको पुल हो । यो ठाँडो खोला बर्सेनि अनियन्त्रित हुने गर्छ । फराकिलो भूगोलको छोटो र होचो लुप्रा पान्डा खोलामा बनाइएको पुल बाढीको उच्च जोखिम छ ।