मुस्ताङको छुसाङका निषेधित ६ गाउँ फुकुवा गर्न माग

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र २२ २០८០

बागलुङ २२ माघ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ अन्तर्गतका ६ गाउँलाई अन्य वडा जस्तै निषेधित तथा नियन्त्रित क्षेत्र फुकुवा गर्न माग गरिएको छ ।

वडा ३ छुसाङका बासिन्दाले बाढी प्रभावित कागबेनी क्षेत्रको अवलोकन गर्न मुस्ताङ आएका उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्रमार्फत निषेधित तथा नियन्त्रित क्षेत्र फुकुवा गर्न माग गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका निषेधित तथा नियन्त्रित क्षेत्रभित्र पर्छन् । वारागुङ मुक्तिक्षेत्र ३ अन्तर्गतका गाउँ ताङ्वे, छुसाङ, तेताङ, चैले, समर र घ्याकर पनि निषेधित तथा नियन्त्रित क्षेत्रमा छन् । वारागुङ मुक्तिक्षेत्रका अन्य वडा भने सरकारले खुला गरेको छ ।

गाउँपालिकाका अन्य वडा जस्तै सरकारले वडा ३ का गाउँलाई समान रुपले हेनुपर्ने माग राख्दै सोही वडाका वडाध्यक्ष विनोद गुरुङले गृहमन्त्री श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाउनुभएको छ । उहाँले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई निषेधित क्षेत्र हटाएर पूर्ण रुपमा खुला गर्न गृह मन्त्री श्रेष्ठको ध्यानार्कषण गराउनुभयो ।

बर्सेनि ७० हजार विदेशी जोमसोम आउँदा मुस्किलले १ हजारमात्र उपल्लो मुस्ताङ पुग्छन्

४ दशकअघि वारागुङ मुक्ति क्षेत्रका सबै वडाबासीको जीवनस्तर र आर्थिक, सांस्कृतिक अवस्था समान रहेको उल्लेख गर्र्र्दै अहिले पछि परेको दाबी गरिएको छ ।

ज्ञापनपत्रमा सरकारले पर्यटन विकासका लागि वारागुङका अन्य वडा खुला भए पनि यसलाई प्रतिबन्धित क्षेत्रमा राखिदा थोरै पर्यटक आउने गरेकाले गाउँहरु ओझेलमा परेको जनाइएको छ । प्रतिबन्धित क्षेत्रका कारण जनताको आर्थिक विकास हुन नसकेको र बसाइसराइ बढेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।