राज्यले कडा नीति बनाएर मानव बेचविखन रोक्नुपर्दछ – श्रेष्ठ

/ प्रकाशित मिति :
बुधबार, भाद्र २០ २០८០

 

कोपीला कँडेल
बागलुङ, २० भदौ – बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले मानव बेचनबिखनका घटना रोक्नका लागि राज्यले कडा नीति नियम बनाउनुपर्ने बताउनुभएको छ ।

‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण ः मानव बेचबिखनको निर्मूलन’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १७ औ राष्ट्रिय दिवसका अवसरमा बागलुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा उहाँले कडा कानुन बनाएर मानव बेचबिखनको अन्त्य  गर्नुपर्ने बताउनुभयो ।

अधिकाशं मानव बेचबिखनका घटना पैसाको प्रलोभनमा परेर हुने गरेको चर्चा गर्दै नगरप्रमुख श्रेष्ठले” यसका लागि सचेतनात्मक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले मानव बेचबिखनका घटनामा राज्य दोषी रहेको बताउनुभयो । उहाँले घटनाका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका अन्र्तगतको अल्पकालीन महिला सेवा केन्द्र प्रमुख सरस्वती देबी रेग्मीले बागलुङ जिल्लामा मानव बेचबिखन तथा मानवअधिकार उल्लंघनका घटना बढ्दै गईरहेको बताउनुभयो ।

उहाँले गत वर्ष ९९ मानवबेचबिखन तथा हिँसा पिडित महिला लाई सेवा दिएको बताउनुभयो । चालु बर्षको हालसम्म ११ जना महिला सेवा लिन आएको रेग्मीले बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४ सालदेखि नेपालले यो दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२ लाई २०६३ साल भदौको २० गते तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन गरिएको थियो ।

त्यही दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसार बहुआयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या बनेको छ ।

कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याइ, डरत्रास देखाइ कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिन्छ ।