मुस्ताङमा बहुप्रतिष्ठित थाक खेलकुद प्रतियोगिता आगामी बैशाखमा गर्ने निर्णय

/ प्रकाशित मिति :
सोमबार, भाद्र १८ २០८០

 

बागलुङ, १८ भदौ – थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको गर्ने बहुप्रतिष्ठित थाक खेलकुद प्रतियोगिता आगामी वशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । थासाङको कावाङमा भएको संघको पदाधिकारी, क्षेत्रीय सदस्य र क्लब अध्यक्षहरुको संयुक्त बैठकले बर्सेनि असोज गरिने प्रतियोगिता वैशाखमा सार्ने निर्णय गरेको हो ।

संघको साउन ६ गते भएको अधिवेशनपछि थासाङ २ कोवाङका कृष्णकुमार शेरचन अध्यक्ष चुनिएपछि पहिलो बैठक बसेको हो । बैठकले साबिकका खेलकुद प्रतियोगिता र अन्य कार्यक्रमलाई परिमार्जन गरी नयाँ ढंगले थाक खेलकुदलाई अघि बढाउने निर्णय गरेको छ । अन्तर क्लब पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिने र महिला भलिबल प्रतियोगितालाई परिमार्जन गरिने भएको छ ।

संघले पुरस्कार राशि दोब्बर बनाएको अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो । अब हुने थाक खेलकुद प्रतियोगितामा पुरुष भलिबल च्याम्पियनले नगद १ लाख १ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेता टोलीले नगद ६५ हजार १ सयसहित सिल्ड, मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ ।

तारा खेलको च्याम्पियनले ३० हजार र उपविजेताले २० हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । दुबै ईभेन्टका सर्वोत्कृष्ट खेलाडीले जनही नगद ३ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तर, प्रतियोगितामा सहभागी नहुने क्लबका स्थानीय खेलाडी अन्य क्लबमा सहभागी हुन पाउने छैनन् । संघले वैशाखमा आयोजना हुने थाक खेलकुदमा हरेक क्लबलाई स्थानीय थकाली नृत्य प्रतियोगितासहित ३ नृत्य प्रस्तुत गर्न अनिवार्य बनाएको छ ।