देउराली प्राःवि का बिद्यार्थी लाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र १५ २០८០

 

बागलुङ, १५ भदौ – स्वर्गिय नन्द प्रसाद उपाध्याय (आचार्य )तथा नन्दकली उपाध्याय ( आचार्य) स्मृति कोषद्धारा देउराली प्राथमिक विद्यालय ओडारचौरका बिद्यार्थी लाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।

ब.न.पा ४ स्थित शिवराम आचार्य, पशुपति आचार्य, यज्ञवल्लभ आचार्य र राजेन्द्र आचार्यले आफ्ना स्वर्गिय मातापिताको नाममा स्थापना गरेको २ लाख २२ हजार २ सय २२ रुपयाँको कोषको व्याज बाट सो बिद्यालयमा अध्यनरत २६ जना विद्यार्थी लाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाकाका उपप्रमुख राजु खड्काले निजीको तुलनामा सामुदायिक बिद्यालयको अवस्था दयनिय रहेको भन्दै आचार्य परिवारले स्थापना गरेको कोषले बिपन्न वर्गका बालबालिकाको पठनपाठनका लागि केही सहज हुने बताउनुभयो ।

कोषका संस्थापक शिवराम आचार्यको अध्यक्षता, सुवास आचार्यको स्वागत मन्तव्य र प्रकाश शर्माको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ४ का अध्यक्ष कुमार विक्रम क्षेत्री, झरना स्मृति कोषका संस्थापक बुद्धि बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कुमारी शर्मा बिजुला, नेपाल रेडक्रस सोसाईटीका सभापती जगन्नाथ आचार्य, समाजसेवी लालचन्द्र राजभण्डारी, आत्म ज्ञान केन्द्रकी शोभा केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

झरना स्मृति कोष बाट ३ जनालाइ जेहेन्दार छात्रवृति वितरण गरिएको बिद्यालयले जनाएको छ ।