कालीगण्डकीको बहाव दुई बर्ष यताकै उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र ८ २០८០

बागलुङ, ८ भदौ – लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनु भएको छ ।

उहाँले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताउनुभयो । अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गएको साउनमा सात दशमलव ४० मिटरको बिन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका छन् ।

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताउनुभयो । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने छ । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका नागरिक त्रसित बनेका छन् ।