प्रहरी इञ्चार्जको हत्या आरोपमा पक्राउ परेका आमा–छोरा पुर्पक्षका लागि जेल चलान

/ प्रकाशित मिति :
बिहिबार, भाद्र ७ २០८០

 

बागलुङ, ७ भदौ – बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज, प्रहरी वरिष्ठ नायव निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका छन्।

बुधबार भएको थुनछेक बहसपछि बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल गत साउन ८ गते राति मृत फेला पर्नुभएको थियो । होटलमा मृत फेला परेका पौडेलको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार वरिष्ठ सई पौडेल साउन ८ गते (सोमबार) राति ८ बजेतिर आशा होटल एण्ड खाजा घरमा खाजा खान जानुभएको थियो । खाजा घरमा सञ्चालक आशा कुँवरसँग विवाद भएको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेको पाइएको प्रहरीले जनाएको थियो। सई पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचन ¥याकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।