विद्यामन्दिर पुस्तकालयले पाँच दिवसीय कार्यक्रम सहित पुस्तकालय दिवस मनाउने

/ प्रकाशित मिति :
मंगलबार, भाद्र ५ २០८០

बागलुङ, ५ भदौ – विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रम सहित मनाउने भएको छ । यो वर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित दिवस मनाउन लागिएको हो ।

पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षतामा बसेको बैठकले भदौ १५ गते पर्ने पुस्तकालय दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइ सहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिने भएको छ ।

१२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो ।

१३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ । १४ गते लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो ।

१५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिने पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो । पुस्तकालय कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले पाँच दिवसीय कार्यक्रम सहित पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो ।