तस्करीको सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ

/ प्रकाशित मिति :
बुधबार, साउन ३१ २០८០

बागलुङ, ३१ साउन – तस्करीको सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो। योसहित सुन प्रकरणमा विदेशी नागरिकसहित १७ जना पक्राउ परिसकेका छन्।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सुन तस्करी प्रकरणमा भारतीय,चिनियाँ र नेपाली नागरिक गरी १७ जना प्रहरी हिरासतमा छन् । यसअघि मंगलबार साँझ विमानस्थलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले थप ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

हङहङबाट ’ब्रेक सु’ को नाममा भित्रिएको तस्करीको सुन १०० किलो बढी भएको बताइएको थियो। तर ’ब्रेक सु’ बाट छुट्याएर पगाल्दा सुनको तौल ६० किलो ७१६ ग्राम मात्रै भएको हो।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन पगालेर जोखेको थियो। जोख्दा ६० केजी ७ सय ८९ ग्राम तौल आएको महाशाखाले जानकारी दिएको थियो।

पक्राउ परेका १७ जनाविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ। सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।