मुस्ताङको बाढीग्रस्त क्षेत्र कागबेनी तीन दिनदेखि अन्धकारमा

/ प्रकाशित मिति :
बुधबार, साउन ३१ २០८០

 

बागलुङ, ३१ साउन – मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्।

आइतवार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।

बाढीले पोल र तारमा क्षति पु¥याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्ता सहकारीले गर्दै आएको छ ।

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताउनुभयो । ‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्,’ उहाँले भन्नुभयो, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ।’