बालबालिकाले सुने बाजेबज्यैका कथा

/ प्रकाशित मिति :
बिहिबार, साउन ४ २០८០

बागलुङ, ४ साउन – हजुरबुबा हजुरआमा सँग नाती नातीनीसँगै नबस्दा परंपरा, संस्कृति र ऐतिहासिक विषयहरु ओझेलमा परेको सामाजिक अगुवाले बताएका छन् ।

विद्यामन्दिर पुस्तकालयले रिड नेपालको सहकार्यमा बुधवारदेखि सुरु गरेको बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमका सहभागीले पछिल्लो समय पुस्ताबीचको सम्पर्क टुट्दा नेपाली परिवेश नै ओझेलमा परेको बताएका हुन् ।

बरिष्ठ बाल कथाकार धु्रवप्रसाद घिमिरेले बालबालिकाले पाको पुस्ताबाट केही सिक्न पाएनन् भने राष्ट्रको अस्तित्व संकटमा पर्ने बताउनुभयो । उहाँले राष्ट्र बाँच्नका लागि कला, संस्कृति, इतिहासको कथा र गाथा पुस्तान्तरण हुनुपर्छ । माटो मात्र जोगिएर राष्ट्रियता नजोगिने उहाँको भनाई छ ।

जनैपूर्णिमा, चैतेदशै र बुद्ध जयन्तीका कथा बिर्सेर भ्यालेन्टाइन डेका कथा बुझ्ने पुस्ताले नेपालको सांस्कृतिक आन्दोलन असफल बन्ने अबस्थामा पुगेको उहाँको भनाई छ ।

कार्यक्रममा रिड नेपालकी बरिष्ठ फिल्ड संयोजक बिना गोलेले शैक्षिक संस्थाको माध्यमबाट जोडिएर ग्रामीण क्षेत्रमा शिक्षा, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्न लागेको बताउनुभयो । हरेक क्षेत्रको गौरवको गाथालाई कथाको रुपमा उतारेर प्रचार गर्ने र त्यसबाट अहिलेको नयाँ पुस्तालाई चिनाउने काममा लागेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नै हजुरबुबा देख्न नपाउँदा कथा सुन्ने अबसर गुमाएको भन्दै छिमेकी हजुरबुबाबाट सिकेको काम र कथाले जीवनको राजनीतिक र सामाजिक यात्रा अगाडि बढाउन सकेको बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन बालबालिकाको दुइवटा समूह बनाएर कार्यशाला गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारीदिनुभयो । बालबालिकाले पाका पुस्ताको कथा सुनेर लेख्ने अभ्यास र चित्रकारिता सिकेको अध्यक्ष थापाले बताउनुभयो । आगामी शनिवार पनि बोलाएर कथा र चित्रको अन्तिम स्वरुप दिने योजना बनाइएको थापाले जानकारी बताउनुभयो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजनप्रसदा शर्माको संचालनमा सम्पन्न भएको थियो ।