लम्पी स्किन रोगबाट पर्वतमा ७० पशु मरे

/ प्रकाशित मिति :
आइतबार, असार ३१ २០८០

बागलुङ ३१ असार – लम्पी स्किन रोगबाट पर्वत जिल्लामा हालसम्म ७० गाई गोरुको मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार लम्पी स्किन रोगबाट पर्वत जिल्लाका विभिन्न वडाहरुमा हालसम्म ७० वटा पशु मरेका हुन् ।

उक्त रोगबाट ३ हजार ४ सय ८८ पशुहरु संक्रमीत भएको विज्ञ केन्द्रका प्रमुख रामजीप्रसाद पौडेलले जानकारी दिनुभयो । रोग नियन्त्रणका लागि पैयू र विहादी गाउँपालिकाले सवै जसो पशुहरुमा यस अघि खोप लगाईसकेका थिए ।

कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाले भने बजेटको ब्यवस्थापन नगर्दा खोप लगाउने पशुहरुको संख्या छुटेको थियो । खोप नलगाएका कारण कुश्मा र महाशिलाका पशु चौपायहरु सवैभन्दा धेरै प्रभावित भएका छन् ।

जलजला, मोदी र फलेवासले खोप कार्यक्रम अघि बढाएका कारण त्यहाँका पशु चौपाय संक्रमित भएपनि संख्या केहि कम देखिएको विज्ञ केन्द्रले जनाएको छ । पछिल्लो समयमा कुश्मा र महाशिला बाहेकका वडाहरुमा कृषकले पालिरहेका पशुहरुमा देखिएको संक्रमण दर घट्दै गएपनि कुश्मा नगरपालिकामा संक्रमण दर नघटेको बताइएको ।

असारको बेलामा धान रोप्ने बेलामा गोरुहरु विरामी पर्दा कृषकहरुलाई धान रोप्न असहज भएको छ । कतिपय स्थानमा खोप लगाएका पशुहरुले केहि दिन बारीमा खनजोत गर्न नसक्ने भएका कारण पनि रोपाई प्रभावित बनेको हो । सरकारले समयमा खोप उपलब्ध नगराउँदा कयौ पशुपालक कृषकहरु मर्कामा परेको जनाइएको छ ।