२ सय १० औ भानुजयन्ती विविध कार्यक्रम सहित सम्पन्न

/ प्रकाशित मिति :
शनिबार, असार ३០ २០८០

 

बागलुङ २९ असार – आदिकवी भानुभक्त आचार्यको २ सय १० औ जन्मजयन्ती बागलुङमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ ।

बिद्यामन्दिर पुस्तकालय र धौलागिरी साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कवि भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानबारे चर्चा, रचना वाचन तथा भानु चित्र लेखन सहित भानुजयन्ती मनाईएको हो ।

सो अवसरमा बोल्दै बिद्यामन्दिर पुस्तकालयका प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले आदिकवी भानुभक्तले रामायण लगायतका महाकाव्य लेखेर नेपाली भाषा सहित्यमा ठुलो योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तलाई चिनाउने मोतीराम भट्टलाई समेत यो बेलामा सम्झनुपर्ने बताउनुभयो ।

यस्तै रत्नश्रेष्ठ पुरस्कार संस्थान गुठीका संस्थापक अध्यक्ष प्राज्ञ प्रेम छोटाले पछिल्लो समय भानुभक्तको महत्व झन बढ्दै गएको भन्दै भाषा साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

आदिकवी भानुभक्तको योगदान चर्चा गर्दै धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले काव्य लेख्ने कविहरु धेरै भएपनि रामायण जस्तो महाकाव्य लेख्ने केवल भानुभक्त मात्र भएको बताउनुभयो ।

सो अवसरमा दर्जन बढि कविस्रस्टाले आआफ्नो सृजना मार्फत भानुभक्त आचार्यको योगदान सदैव स्मरणयोग्य रहेको बताएका थिए । कार्यक्रममा भानुचित्र लेखनमा उत्कृष्ट चित्र बनाउने प्राथना ओझालाई साहित्यीक पुस्तक सहित पुरस्कृत गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीका पुर्व सभापति विश्वनाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक रामचन्द्र शर्मा, कालिका कन्यामन्दिर माबिका प्रधानाध्यापक धनराज सापकोटा, राष्ट्रिय लोकभजन चुट्का समुह बागलुङका अध्यक्ष टेकबहादुर केसी संगम, साहित्यकार बिष्णुनाथ गौतम, गोबिन्द सुबेदी, कोपीला कँडेल, पुष्पीका सुबेदी लगायतले आआफ्नो सृजना मार्फत भाषा साहित्यको जर्गेना गर्न सकेमात्र भानुभक्तप्रति सच्चा सम्मान हुने बताउनुभएको थियो ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।