मुस्ताङमा यसबर्ष स्याउ उत्पादनमा गिरावट आउने संकेत

/ प्रकाशित मिति :
मंगलबार, असार १९ २០८០

बागलुङ, १९ असार – मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ ।

स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् । मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ ।

हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न नसकेका कारण धेरै चिस्यान चाहिने स्याउका जातहरू राम्रोसँग फुल्न नसकेको शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

यसका साथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग पराग सेचन हुन नपाउँदा फल नलागेको उहाँको भनाई थियो । स्याउमा राम्रोसँग फूल खेलेको समयमा झन्डै हप्तादेखि दश दिनसम्म झरी पर्दा पराग सेचन हुन नपाएकाले दाना कम लागेको उहाँले बताउनुभयो ।

पछिल्लो समय हिमालपारिका जिल्ला मुस्ताङमा माहुरी पालन पनि कम हुन थालेकोले पनि पराग सेसनको समयमा माहुरी कम हुने गरेको स्थानीयको भनाइ छ । फूल खेल्ने बेलामा लामो समय सम्म पानी पर्दा स्याउको उत्पादन यो वर्ष गतवर्षको तुलनामा आधा भन्दा पनि बढी कम देखिएको टुकुचेका कृषक निरोज तुलाचनले बताउनुभयो ।