७२ औ मदन स्मृति दिवस बागलुङमा पनि बिबिध कार्यक्रम सहित मनाईयो

/ प्रकाशित मिति :
बिहिबार, असार १४ २០८០

बागलुङ, १४ असार – नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्ती बिहिबार बागलुङमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

नेता भण्डारीको स्मृतिमा नेकपा एमाले र एमालेका जनसंगठनहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका हुन् । भण्डारीको स्मृतिमा नेकपा एमाले बागलुङले बागलुङ कालिका मन्दिर परिसरमा बृक्षा रोपण गरेको छ । कालिका मन्दिरको बन क्षेत्रमा ७२ वटा रुद्रक्षका बिरुवा रोपेर स्मृति दिवस मनाईएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।

बृक्षारोपण कार्यक्रमकोे शुभारम्भ गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज जगत बिश्वकर्माले मदन भण्डारीले देखाएको बाटोबाट नेपाली राजनीति लरबराएको बताउनुभयो । जनताको बहुदलीय जनबाद मार्फत नेपालीको समृद्धिको सपना देखेका मदन भण्डारीले तत्कालिन समयमा नेपालको राजनीतिलाई लयमा ल्याएको उहाँको तर्क थियो । मदन भण्डारीले नै प्रतिपादन गरेको सिद्धान्तमा चलेको नेकपा एमालेमा जनमत देखिनु राष्ट्र समृद्धिको आधार तयार हुँदै गरेको संकेत भएको उहाँले दाबी गर्नुभयो ।

कालिका बन क्षेत्रमा ७ सय रुद्राक्षका बिरुवा रोप्ने अभियान सहित बिहिबार ७२ वटा रुद्राक्षका बिरुवा रोपेको जिल्ला अध्यक्ष केसीले बताउनुभयो । बृक्षारोपणका लागि केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सावित्रा राना, केन्द्रीय सल्लाहाकार परिषद सदस्य नवराज पौडेल, प्रदेश कमिटिका सदस्यहरु र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागि भएका थिए ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले नेपालको राजनीतिमा मदन भण्डारीको योगदान बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तको सान्र्दभिकता अहिले पनि उत्तिकै रहेको भन्दै नेपाली माटो सुहाउँदो कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज तारानाथ आचार्य, पूर्व केन्द्रिय सल्लाहकार रामबहादुर जिसी लगायतले बोल्नुभएको थियो । जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, उपाध्यक्ष खेमराज गौतमको स्वागत र सचिव अर्जुन कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर पारेर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले धौलागिरी बहुमुखी क्याम्पसमा बृक्षा रोपण गरेको छ । अनेरास्ववियुले क्याम्पस परिसरमा आँप र लिचीका बिरुवा रोपेको हो ।