बागलुङमा पनि भारतीय चलचित्र पर्दशनमा रोक

/ प्रकाशित मिति :
सोमबार, असार ४ २០८០

बागलुङ, ४ असार – बागलुङ नगरपालिकामा भारतिय चलचित्र पर्दशनमा रोक लगाईएको छ ।

बागलुङ नगरपालिकाले सोमबार बागलुङमा रहेको बीएसआर सिनेमा हललाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बीएसआरलाई पत्र काट्दै भारतीय फिल्म ‘आदिपुरुषमा’ भ्रम छर्ने तरिकाले जानकी भारतीय छोरी हुन भन्ने शब्द समावेश गरिएको र उक्त शब्द नसच्चिए सम्म नगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै भारतीय फिल्म प्रसारण गर्न रोक लगाउन निर्देशन दिनुभएको छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले राष्ट्रियतामा आँच आउने यस्ताखाले चलचित्र संचालनमा सबैले रोक लगाउनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि देशको राष्ट्रियता र सार्वभौमिकताका सन्दर्भमा अध्ययन गर्न र संवेदनशील बनेर चलचित्र निर्माण गर्न आग्रह गर्नुभयो ।

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने निर्णय गरेको थिए।