सिमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या

/ प्रकाशित मिति :
शुक्रबार, असार १ २០८០

बागलुङ, १ असार – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएको बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना क्षेत्रमा भएको बिवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या भएको छ ।

पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जना भएको र हालसम्म पनि बिवाद नटुङ्गिँदा पातीहाल्ने, रिगताल लगाएतका क्षेत्रको पूर्वाधार निर्माणमा समस्या भएको हो ।

स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहिचान गरी प्रचारप्रसार र पूर्वाधार निर्माण गरेको र प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अवस्थामा भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जना भएको थियो ।

पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन नसकेका कारण बिकास निर्माणमा समस्या देखिएको हो । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो ।

सरोकारवालाले विवाद मिलाउन कोसिस गरेपनि अहिलेसम्म कुनै पनि निचोड ननिक्लिएको र दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भएपनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरी सडक निर्माण गरिरहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख विनियोजन गरेको उहाँको भनाइ छ । मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताउनुभयो ।