जोमसोममा सडक तर्फ बिनियोजित ७३ करोड ६९ लाख बजेट फिर्ता

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३१ २០८០

 

बागलुङ, ३१ जेष्ठ –राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई चालू आर्थिक वर्ष सडकतर्फ विनियोजन गरिएको १ अर्ब ३३ करोड बजेटमा ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष विनियोजन गरेको सडकतर्फको बजेट रकमान्तर गरेको हो।

सडकतर्फको बजेट आधाभन्दा बढी घटेसँगै आयोजनाको सडकतर्फ चालू वर्षको बजेट ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको हो। जसमध्ये १० करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयले रोक्का गरिराखेको छ। राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पछिल्लो समय सडकतर्फ तीन योजना थपिएका थिए।

सुरुवाती चरणमा सडक स्तरोन्नति सुरु गरिएको बेनी—जोमसोम सडक ४ खण्ड र जोमसोम—कोरला ७ खण्डमा सडक स्तरोन्नति सुरु गरिएको थियो। बेनी—जोमसोम ७६ किमि सडकको तेस्रो खण्ड कैकु—खन्ती २५ किमि डीबीएसडी कालोपत्रे सडक सम्पन्न भइसकेको छ भने अन्य तीन खण्ड निर्माणाधीन अवस्थामा छन्।

पछिल्ला पटक थपिएको मालढुंगा—बेनी १३ किमि कालोपत्रे सडक, बेनी—गलेश्वर ३ किमि कालोपत्रे सडक र जोमसोम—कागबेनी १३ किमि कालोपत्रे निर्माणाधीन अवस्थामा छन्।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनामा ठेक्का सम्झौता गरी निर्माणको काम ढिलासुस्ती गर्ने निर्माण कम्पनीका कारण बजेट फिर्ता हुन पुगेको आयोजना प्रमुख जगत प्रजापतिले उल्लेख गर्नुभयो । कोरोना कहरको जोखिम रोकिँदासमेत निर्माण कम्पनीले सडक निर्माणलाई प्राथमिकता नदिँदा बजेट खर्च नसक्दा बजेट फिर्ता गएको उहाँको भनाई छ ।

आयोजनाअन्तर्गत सडकतर्फको बजेट फिर्ता गए पनि पुलतर्फको बजेट यथावत् रहेको आयोजनाका लेखापाल ईश्वर गैरेले जानकारी दिनुभयो । चालू वर्ष पुल र पुल पुलेसातर्फ ५ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन भएको लेखापाल गैरेले बताउनुभयो । उहाँका अनुसार सडकतर्फको बजेट ५९ करोड ६९ लाख र पुलपुलेसातर्फको बजेट ५ करोड ७६ लाख गरी आयोजनाको चालू वर्षको कुल बजेट ६५ करोड ७ लाख रुपैयाँ रहेको छ।