अनुमतिबिना सञ्चालित कुस्मीसेराको डेन्टल क्लिनिक बन्द

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ २८ २០८០

बागलुङ, २८ जेष्ठ –जैमिनी नगरपालिका वडा नम्बर–१ को कुश्मीसेरा बजारमा अनुमतिबिना सञ्चालनमा रहेको दाँत उपचार केन्द्र जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल नेतृत्वको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रियाका कुनै पनि कागजात फेला नपरेपछि चाबी लगाएको हो । ‘मेरो डेन्टल’ नाम दिएर सञ्चालित उक्त केन्द्रमा पुग्दा बिना इजाजत काम गरेको भेटिएपछि बन्द गर्न बाध्य भएको बरालले बताउनुभयो ।

कुश्मीसेरा बजारमै दर्ता नगरी चलेका अन्य किराना पसल, मासु पसललगायतमा पनि प्रशासनले ताला लगाएको हो । ‘अर्कोबाट पसल किनेको हुँ भनेका छन्, किनेको सम्झौता पनि छैन, दर्ता पनि छैन, नवीकरण पनि छैन,’ बरालले भन्नभयो, ‘जनताको स्वास्थ्यमा खेलवाड गरेका र राजस्व छली गरेको शंका लागेका सबैलाई बन्द गरेर हाजिर हुन बोलाएका छौं ।’ उनीहरूले आवश्यक कागजात ल्याएमा पसल खोल्न दिने उहाँले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, स्थानीय बजार व्यवस्थापन समिति र उद्योग वाणिज्य संघका प्रतिनिधि राखेर बजार अनुगमन गरिएको थियो । कतिपय पसलमा बोर्ड नराखेको भेटिएको थियो भने अधिकांशले मूल्यसूची नराखेको भेटिएपछि तत्काल राख्न निर्देशनसमेत दिइएको थियो ।