बाग्लुङको बिहुँ–नरेठाँटी सहित गण्डकी सरकारले पाँचवटा सुरुङ मार्ग अध्यन गर्ने

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ २२ २០८០

 

बागलुङ, २२ जेष्ठ – गण्डकी प्रदेश सरकारले पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।

आइतवार हिजो सार्वजनिक भएको आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बाग्लुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यि मध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बाग्लुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौँदेखि चर्चामा रहेको यस सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने यो सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । आव सकिनै लाग्दा पनि यो सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन ।

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने यो सुरुङ मार्ग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा नागरिकको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा यो सुरुङ मार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

बाग्लुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । ’रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ’, उहाँले भन्नुभयो, ’यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।’

केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन ।

पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यो सुरुङ मार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किलोमिटर छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किलोमिटरमा घटाउने अनुमान गरिएको छ । यसले पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लासँग जोड्छ ।