बागलुङ नगर लिफ्टीङ खानेपानी आयोजनाको परीक्षण सुरु

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ १८ २០८០

बागलुङ १८ जेष्ठ – लामो समयको प्रतिक्षा पछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजना परीक्षण सुरु भएको छ ।

निर्माण व्यवासयीले काठेखोलाको पानी सुद्धिकरण स्थल र शुद्धीकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो ।

आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इञ्जिनियर बिक्रम अधिकारीले लिफ्टीङमा आउनसक्ने समस्या, वितरण ट्याङ्कीसम्मको पाईपलाईन, सुद्धिकरणस्थल र अन्य प्राबिधिक बिषयको परीक्षण थालिएको जानकारी दिनुभयो ।

परीक्षण सफल भएमा आगामि एक महिना भित्र आयोजना हस्तान्तरण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।

आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको संघीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीको भनाई थियो ।

परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्याङ्कीसम्म छुट्टाछुट्टै परीक्षण भैरहेको छ ।

आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।