बागलुङको गलकोट स्थानीय शासनयुक्त नगर घोषणा नगरपालिका

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १४ २០८០

 

बागलुङ, १४ आईतबार – बागलुङको गलकोट नगरपालिकालाई शनिवार बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । तीन बर्षदेखिको अथक प्रयासबाट नगरपालिकाले यो उपलब्धी हासिल गरेको हो ।बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि गलकोट नगरपालिका बागलुङमा नै पहिलो बालमैत्री नगर घोषणा भएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गल्कोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर भएको घोषणा गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री सिँखडाले बाल अधिकार सुनिश्चित नभएसम्म सम्मृद्ध समाजको कल्पना गर्न नसकिने बताउनुभयो ।

बालबालिका भोलिका कर्णदार र देश निर्माणकर्ता पनि भएकाले उनिहरुले पाउने हक अधिकार सुनिश्चित गर्नु राज्यको काम तथा दायित्व भएकोमा उहाँले जोड दिनुभयो । नगरप्रमुख भरत शर्मा गैरेले यो उपलब्धी आफ्नो कार्यकालको महत्वपूर्ण काम भएको बताउनुभयो ।

बालमैत्री नगर घोषणा गर्ने नगरपालिकाले तीन बर्षअघि निर्णय गरेको जानकारी दिदै सामाजिक बिकास संयोजक एवँ वडा नम्वर २ का अध्यक्ष हिमबहादुर भण्डारीले यसलाई कार्यान्वयन गर्नका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

घर घरमा बालबालिकालाई गर्ने व्यवहारदेखि बिद्यालय तहमा पढाउने तरिका, स्वास्थ्य र सरसफाइका सबै सूचक पुरा गर्दै नगरभित्र बन्ने सबै संरचनामा बालमैत्री सूचक पुरा गर्ने लक्ष पुरा भएको नगरप्रमुख गैरेले बताउनुभयो ।

बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पुरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पुरा गर्नुपर्ने सूचकमध्ये बालबिबाह अन्त्य गर्नुपर्नेलाई सचेतनापूर्वक लिन थालिएको उपप्रमुख फमलाल निउरेले बताउनुभयो ।