ताराखोला गाः पा अध्यक्ष बिकको सेवा सुविधाको रकम जनयुद्वका घाइतेदेखि शैक्षिक कोषलाई

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ १០ २០८០

 

बागलुङ १० जेष्ठ – चुनावी प्रतिवद्वता अनुसार बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले वर्षभरि सेवा सुविधाबापत पाउने रकम सामाजिक कार्यमा खर्चिनुभएको छ ।

गत बर्ष बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा ताराखोलाका अध्यक्षका प्रत्याशी विकले आफु निर्वाचित भए जनप्रतिनिधिले पाउने सेवा सुविधाबापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गर्नुभएको थियो ।

जनप्रतिनिधिको रुपमा काम गरेको वर्षगाँठमा विकले पत्रकार सम्मेलन गर्दै सेवा सुविधाबापतको रकम जनयुद्वका घाइतेदेखि शैक्षिक कोषका लागि हस्तान्तरण गर्नुभएको छ ।

प्रशासनिक काममा हुने फजुल खर्च घटाएर पालिकाको लागि आवश्यक डोजर खरिद गरेका विकले सेवा सुविधाबापत एक वर्षमा पाउने ४ लाख ४८ हजार ८० रुपैयाँमध्ये १ लाख २२ हजार ८ सय ६९ रुपैयाँ गाउँपालिकाको शैक्षिक कोषलाई हस्तान्तरण गर्नुभएको छ ।

यस्तै, विकले जनयुद्वका घाइते बमबहादुर रोका ‘प्रशान्त’लाई ७० हजार, स्वकीय सचिव धनबहादुर घर्तिलाई १ लाख १६ हजार, पत्रकार सम्मेलनका लागि जकेन्द्र विकलाई ६० हजार, पार्टी लेबीका लागि केन्द्रिय सदस्य निरमाया श्रीसलाई ७३ हजार २ सय १२ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाले बढ्दो विदेश पलायनलाई रोक्न श्रम बैंक कार्यक्रम संचालन गरेको छ भने बसाइसराई रोक्नको लागि बाँझो जमिन सदुपयोग गर्ने नीति समेत लिएको छ ।
पूर्वाधारतर्फ ७२ प्रतिशत प्रगति गरेको गाउँपालिकाले सामुदायिक विद्यालयलाई अब्बल बनाउन जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नीति कार्यान्वयनमा ल्याएको छ ।