कट्टर हिन्दुवादी र इशाइकरणका कारण गणतन्त्रमाथी खतरा– मोहनबिक्रम सिहँ

/ प्रकाशित मिति :
शनिबार, जेष्ठ ६ २០८០

बागलुङ, ६ जेष्ठ –नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालमा कट्टर हिन्दुवादी र इशाइकरणका कारण गणतन्त्रमाथी खतरा बढीरहेको बताउनु भएको छ । उहाँले हिन्दुवादीले राजा ल्याउन खोज्ने र इशाइकरण मार्फत अमेरिकी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता खतरामा परेको बताउनुभयो ।

यसअघि भौगोलिक रुपमा रहेको खतरा अहिले देशभित्रै प्रवेश भएको उहाँको दावि थियो । बागलुङ आएको मौका छोपेर प्रगतीशिल पत्रकार संघले आयोजना गरेको भेटघाट कार्यक्रममा सिंहले पहिला भारतमार्फत हस्तक्षेप गरेको अमेरिकाले अहिले सिधै नेपाल आएर आफ्नो हस्तक्षेप बढाइरहेको दावि गर्दै अमेरिकाले अहिले इन्डो प्यासिफिक रणनीतिमा लागेर हस्तक्षेप बढाइरहेको बताउनुभयो ।

अमेरिकाले नेपालमा हस्तक्षेप बढाउन एमसिसि पास गराएको उहाँले बताउनुभयो । एमसिसि विकास निर्माणको बाहनामा आएको भन्दै उहाँले एसपीपीमार्फत सिधै सैन्य अभ्यासमा आउन खोजेको आरोप लगाउनुभयो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत नेपालका राजनीतिक दल र व्यवस्थालाई नै हस्तक्षेप गर्ने र राज्यव्यवस्था कमजोर पार्ने काम शुरु भएको टिप्पणी गर्नुभयो । सिंहले नेपालको जनमत बुझेरभन्दा गलत अभियानले पनि बढ्ने गरेको दाबी गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने पार्टीको स्पष्ट धारणा भएपनि यो मौका छोपेर निरंकुशताबादी उठ्ने अवसर आएको भन्दै दलका नेता सचेत बन्नुपर्ने बताउनुभयो ।

अर्को प्रसंगमा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र र धर्मनिरपेक्ष बिरोधी नेताको आरोप लगाउनुभयो । उहाँले इशाइकरण सशक्त हुँदा नेपालमा राजाबादी पनि कठपुतली बन्ने बताउनुभयो । कार्यक्रमको संचालन प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव ताराप्रसाद शर्माले गर्नु भएको थियो ।