बागलुङको जैमिनी –३ दमेकमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३ २០८០

बागलुङ, ३ जेठ – बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् ।

यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताउनुभयो । तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो ।

‘यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे ÷ नरहेको विषयमा खोजी गर्छौ’, शुभम् ग्रुपका निर्देशक अशोक विकले भन्नुभयो, ‘प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।’ प्रारम्भिक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उहाँले बताउनुभयो ।

बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने विकले बताउनुभयो । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ ।