सबैखाले भ्रष्टाचारका मुद्धाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङका नागरिक सडकमा

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३ २០८០

बागलुङ, ३ जेठ – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने देखि सबैखाले भ्रष्टाचार मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रद्र्धशन गरिएको छ ।

भ्रष्टाचारबिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र मजदुरले प्रद्र्धशन गरेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका थिए । सो अवसरमा उनीहरुले भ्रष्टाचारका दोषीलाई कारवाही माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएका छन् ।

उनीहरुले नक्कली भुटानी शरणार्थी मुद्दादेखि सबैखाले मुद्दामा राज्य शुन्य सहनशिलतामा उत्रनुपर्ने धारणा राखेका थिए । अभियानका अगुवा एकबहादुर केसीले अब नागरिक स्वतस्फूर्त आन्दोलनमा उत्रने बेला भएको बताउनुभयो ।

भ्रष्टाचार बिरोधी व्यानर र प्लेकार्ड बोकेका स्थानीयले कारवाही गर्न खुट्टा कमाउन नहुने धारणा राखेका थिए । उनीहरुले भ्रष्टाचारबिरुद्ध नाराबाजी गरेका थिए । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापन बुझाएपछि उनीहरुले आन्दोलनको अभिायन जारी राख्ने बताएका छन् ।