बागलुङमा ट्राफिक सप्ताह शुरु

/ प्रकाशित मिति :
सोमबार, बैशाख २५ २០८០

बागलुङ, २५ बैशाख – बढ्दो सहरिकरण संगै हुनसक्ने सम्भावित सवारी दुर्घटना न्युनिरणका लागि बागलुङमा ट्राफिक सप्ताह शूरु भएको छ ।
बिभिन्न सघंसंस्थाको सहभागितामा ट्राफिक प्रहरी कार्यालय बागलुङले सप्ताहको पहिलो दिन सोमबार बागलुङ सदरमुकाममा सचेतनामुलक र्याली पर्दशन गरेको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङ बाट शुरु भएको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी बागलुङ कालिका मन्दिर परिसर बालउद्यानमा गएर मुल समारोहमा परिणत भएको थियो ।

सो अवसरमा बोल्र्दैै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बढ्दो सवारी चाप र सडकको मापदण्ड मिचेर बनाईएका संरचनाले जिल्लामा ट्राफिक दुर्घटना बढेको बताउनुभयो । साँघुरो र ग्रेड नमिलेका सडक तथा चालकको लापरबाहीका कारण दुर्घटनको जोखिम बढेको चर्चा गर्दै जिल्ला समन्वय प्रमुख थापाले” दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमको सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नमिलेको भुगोल तथा कच्ची सडकका कारण दुर्घटना हुन सक्ने भएकाले सवारी चालकले अनुशासित र संयमित बन्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्राप्त जनशक्ति अभावका कारण पनि ट्राफिक प्रहरीले प्रभावकारी सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले सवारी दुर्घटना कम गर्न सबैले ट्राफिक नियमको पुर्णपालना गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान फलदायी हुने बताउनु भयो ।

दुर्घटनाको जोखिम बाट बच्नका लागि हाल जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस, मास्क वितरण गर्ने , सवारी चेकजाँचमा कडाई गर्ने लगायतका कार्य भईरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिन बहादुर खड्काले बताउनु भयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक मदन केसीको स्वागत मन्तव्य र बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।