मन्दिरका नवनिर्मित संरचना हस्तान्त्रण तथा दाता सम्मान

/ प्रकाशित मिति :
आइतबार, बैशाख २४ २០८០

बागलुङ, २४ बैशाख – जिल्लाको काँठेखोला गाँउपालिका – ६ स्थित ऐतिहासिक धार्मिक शक्तिपिठ विहुँकोट मन्दिरमा हालै निर्माण सम्पन्न भएको भौतिक संरचना हस्तान्त्रण तथा दाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।४ सय १२ बर्ष पुरानो बिहुँकोट मन्दिर पछिल्लो समय जिर्ण बन्दै गएपछि दाताहरुको सहयोगमा विहुँकोट विकास मञ्च काठेखोला,अन्र्तराष्ट्रिय विहुँकोट विकास मञ्च र बिहुँकोट विकास मञ्च चितवन नवलपुरको संयोजनमा निर्मित भौतिक संरचना मन्दिर व्यवस्थापन समिति लाई हस्तान्त्रण गरिएको हो ।

गण्डकी प्रदेशकै आस्थाको धरोहरको रुपमा रहेको बिहुकोट मन्दिरका संरचना जिर्ण बनेपछि बिभिन्न दाताहरुको सहयोगमा जिर्ण संरचनाको पुर्ननिर्माण गरि हस्तान्त्रण गरिएको मन्दिर निर्माण उपसमितिका संयोजक तथा विहुँकोट विकास मञ्चका सचिव बेदप्रसाद कँडेलले जानकारी दिनुभयो । सो अवसरमा मन्दिर निर्माणका लागि आर्थिक लगायत बिभिन्न सहयोग गर्ने सहयोगदाता लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सामाजिक एबं सांस्कृतिक अभियान्ता ईन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेलले कला संस्कृति र पुरातात्विक संरचनाको संरक्षण मार्फत बिहुँकोट लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । ऐतिहासिक धरोहरको रुपमा रहेको मन्दिरको संरक्षण गर्नु सबैको कर्तव्य भएको उहाँको भनाई थियो ।सो अवसरमा काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले पालिका भित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासको लागि आफुहरुको सदैब साथ र सहयोग रहने बताउनुभयो ।

विहुँकोट विकास मञ्च काठेखोला गाँउपालिकाका अध्यक्ष हिरालाल कँडेलको अध्यक्षता र सचिव बेदप्रसाद कँडेलको संचालनमा सम्पन्न कार्यक्रममा काँठेखोला गाउपालिका वडा नम्वर –६ का अध्यक्ष बृहस्पती कँडेल, वडा नम्वर – ५ का अध्यक्ष ज्ञामनाथ कँडेल, विश्वहिन्दु महासघं बागलुङका अध्यक्ष जव्वर बहादुर लामिछाने र अमर माःवि बिहुँका प्रधानाध्यापक भिष्म कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ईन्द्रेणी टिम र भजनकृतन समुह लगायतको बृहत सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको बिहुँकोट विकास मञ्चका अध्यक्ष हिरालाल कँडेलले जानकारी दिनुभयो ।

अधिकाशं दलित समुदायको विचमा अवस्थित बिहुँकोट मन्दिरमा अघिल्लो वडा कार्यालयको सहयोगमा बलिप्रथा अन्त्य गरिएको घोषणा गरिएको थियो । परम्परा देखी चलिआएको बलिप्रथा लाई जवरजस्ती अन्त्य गरिएको भन्दै विवाद सृजना भएको स्थानियले बताएका छन् ।