शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख २२ २០८០

बागलुङ, २२ बैशाख – एकै पटक सवा लाख शालग्रामको दर्शन गर्न पाइने भएपछि बागलुङको शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका वडा नं. ४ कुडुँले स्थित शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरु आउने क्रम बढ्दै गएको छ ।

चैत महिनादेखि अध्ययन अवलोकन भ्रमणकालागि शालग्राम संग्रहालयमा आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । तीन वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको शालग्राम संग्रहालयले शालग्रामको संरक्षणमा उल्लेखनीय काम गरेको स्थानीयले बताएका छन् ।

शालग्राम शिलाको संरक्षणका लागि कुँडुलेमा रहेको तिरुपती बालाजी धाममा श्रीधराचार्य शालग्राम संग्रहालय निर्माण पछि शालग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकको संख्यमा वृद्धि भएको संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो ।

चैत यता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बीहरु अवलोकन भ्रमणका लागि उल्लेख्य मात्रमा आउने गरेको उहाँले बताउनुभयो । अहिले दैनिक २ सय देखी ५ सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि आउने गरेका छन् ।