मुस्ताङका उच्चलेकमा यार्सा संकलन शुरु

/ प्रकाशित मिति :
बिहिबार, बैशाख २१ २០८០

बागलुङ, २१ बैशाख – मुस्ताङका उच्चलेकमा यार्सा संकलन गर्न थालिएको छ। जिल्लाको कोवाङ, टुकुचे र जोमसोमका उच्चलेकमा यार्सा संकलन सुरु भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मातहतको इलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गतका ९ वटा र इलाका संरक्षण कार्यालय लोमान्थाङ अन्तर्गत सातवटा स्थानीय संरक्षण व्यवस्थापन समिति छन्।

समितिले वनजंगलको संरक्षण सँगै हिमाली जटिबुटी यार्सागुम्बा संकलन तथा व्यवस्थापनको काम पनि गर्छ। संरक्षण व्यवस्थापन समितिले धमाधम यार्सागुम्बा संकलनका लागि पुर्जी दिन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थासाङको १ र २ अन्तर्गत कोवाङ र टुकुचे र घरपझोङ गाउँपालिका–४ को जोमसोम संरक्षण व्यवस्थापन समितिले वैशाख १३ देखि असार १५ गतेसम्मका लागि यार्सा संकलन पुर्जी दिन थालेका हुन्।

कोवाङको मुली लेक, पोलो खर्क र श्रीखर्क, टुकुचेको बतासे र संयुक्त मार्चे लेक र जोमसोमको नमखुलेकमा यार्सा संकलन गर्न सम्वन्धित समितिहरूले पुर्जी फुकुवा गरेको एक्यापका कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार वारागुङ मुक्तिक्षेत्रको झोङ, मुक्तिनाथ र कागबेनी संरक्षण समितिले जेठबाट मात्र यार्सा संकलन पुर्जी दिनेछन्।

यार्सा संकलन गर्न जाने व्यक्तिहरूले सम्बन्धित स्थानीय संरक्षण समितिले यार्सा संकलन पुर्जीको रकम निर्धारण गर्छन्। थासाङको कोवाङ संरक्षण व्यवस्थापन समितिले स्थानीय यार्सा संकलकलाई २५ सय र जिल्ला बाहिरका यार्सा संकलकलाई ५ हजार शुल्क लिएर पुर्जी दिएको कोवाङ संरक्षण व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले बताउनुभयो ।

कोवाङको उच्चलेकमा यार्सा टिप्न स्थानीय र बाहिरका ३५ जनाले पुर्जी लिइसकेको उनले उल्लेख गरे। मुस्ताङमा यार्सा संकलन गर्न स्थानीयसहित रोल्पा, दाङ, रुकुम, गोरखा, धादिङ, बाग्लुङ र म्याग्दीका मानिस आउने गर्छन्।

जैविक विविधतामध्येको बहुमूल्य प्राकृतिक हिमाली जटिबुटी यार्सागुम्बाको स्वदेश तथा विदेशमा उत्तिकै माग छ। एउटै यार्सागुम्बा गोटाको २ सय देखि २ हजारसम्म पर्छ। हिमाली यार्साको प्रति केजी मूल्य २५ लाखदेखि ४० लाखसम्म पर्ने गर्छ।