सापकोटा कुल देवता धार्मिक संस्था पितृ सप्ताह ज्ञान महायज्ञ शुरु

/ प्रकाशित मिति :
शनिबार, बैशाख १६ २០८០

बागलुङ, १६ बैसाख –सापकोटा कुल देवता धार्मिक संस्था मालिका बागलुङको आयोजनामा श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

महायज्ञको उद्घाटन श्रि रंगवैंकटेस्वर  मन्दिर तिरुपती बालाजीधाम कुडुले फेदीका अध्यक्ष तथा शालग्राम संग्राहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले पछिल्लो समय समाजमा अग्रजहरुको सम्मान हराउदै गएको बेला सापकोटा बन्धुहरुले कुलपित्रृको नाममा मन्दिर निर्माण गरेर महत्वपुर्ण कार्यँको थालनी गरेको बताउनुभयो । अग्रजको स्मरण र सम्मान गर्नु सन्ततिहरुको कर्तव्य रहेको चर्चा गर्दै स्वामी प्रपन्नाचार्यले” ‘ कुलपितृ र धर्मसंस्कार संस्कृति लाई संगसंगै लैजानुपर्ने बताउनुभयो ।

महायज्ञ एबं कुलपुजा आयोजक समितिका संयोजक प्रेमप्रसाद सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शालिकराम सापकोटाको स्वागत मन्तव्य तथा कलाकार रेशम सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलाधर सापकोटा, आर्थिक समिति संयोजक शिवप्रसाद सापकोटा, सापकोटा कुल मन्दिर व्यवस्थापन समितिका सल्लाहकार रामकृष्ण सापकोटा, टिकाराम सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन हुनु पुर्व मालढुङ्गाबाट महायज्ञ स्थल सम्म मोटरसाईकल ¥यालीसंगै कलश यात्रा गरिएको प्रचार प्रसार उपसमितिका संयोजक प्रकाश केसीले जानकारी दिनुभयो । मालिका बान्द्रेमा रहेको ऐतिहासिक काप्राको रुख मुनि रहेको कौडिन्य गोत्रीय सापकोटा कुल मन्दिरमा महायज्ञ आयोजना गरिएको महायज्ञमा बान्द्रेमा जन्म भैइ देशका विभिन्न जिल्लामा बसोबास गर्ने करिव ५ सय परिवार सहभागि हुने सापकोटा कुल देवता धार्मिक संस्थाका अध्यक्ष कलाधर सापकोटाले बताउनुभयो ।

करिव ५ सय वर्ष पुरानो दावी गरिएको काप्राको रुख र मन्दिरलाई तिर्थको रुपमा विकसित गरी राष्ट्रकै धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउने महान उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको महायज्ञ आयोजक समितिका संयोजक प्रेम शर्मा सापकोटाले जानकारी दिनुभयो।

महायज्ञको प्रमुख कथा वाचकको रुपमा पण्डित गिरिराज पौडेल र सहवाचकमा शिवप्रसाद आचार्य र टिकाराम कँडेल रहनुहुने आयोजक समितिले जनाएको छ । श्रीमद्भागवत पाठ परायण, प्रवचन, रुद्रभिषेक शक्ति आरधाना, हवन, तर्पण, मार्जन, लक्षवर्ती प्रज्वलन समावेश गरिने समितिका सचिव चक्रपाणी शर्मा सापकोटाले बताउनुभयो ।