बागलुङका १७ सामुदायिक वनमा आगलागी

/ प्रकाशित मिति :
शनिबार, बैशाख ९ २០८០

बागलुङ, ९ बैशाख – सुक्खायाम सुरु भएसंगै बागलुङको करिव ४ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायीक वनमा आगलागी भएको हो ।गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले २ सय हेक्टर वनक्षेत्र मासेको डिभिजन बन कार्यालय बागलुङको तथ्यांकमा उल्लेख छ ।

माघदेखि सुरु भएको आगलागीको श्रङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायीक तथा नीजि आवादी वनक्षेत्र र सामुदायीक तथा राष्ट्रिय वनमा आगलागी भैरहेको डिभिजन वन अधिकृत मुकुन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यो बर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका ६ सामुदायीक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।

बागलुङमा एक लाख पाँच हजार ५०१ हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर ५ सय २७ सामुदायीक वन ३३ हजार ९ सय ९ हेक्टरमा फैलिएका छन्भने, आठ वटा दर्ता भएका नीजि र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो ।गत बर्ष हिउँदमा बर्षा हुँदा बागलुङका बन क्षेत्रमा आगलागी भएको थिएन् ।

एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यो बर्ष हिउँद सुख्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको डिभिजन बन अधिकृत अधिकारीले बताउनुभयो । बर्षा नभएसम्म बाँकी रहेका वनक्षेत्रसमेत आगलागीको जोखिममा छन् ।