शालग्राम महोत्सवलाई कालिगण्डकीनदीको चित्कारको स्वरुप दिईने

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख ८ २០८០

बागलुङ ८ बैशाख – कालीगण्डकी र शालीग्राम बचाउन बागलुङमा आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिइने भएको छ ।

बैसाख ११ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सवमा नदीको महत्वबारे प्रचार गरिने भएको हो । शालग्राम महोत्सवलाई सफल बनाउन प्रचारात्मक र सन्देशमुलक कार्यक्रम गर्ने तयारी भएको शालीग्राम संग्राहलयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

बागलुङ नगरपालिका–४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालग्राम संग्राहलय व्यवस्थापन समितिले कालीगण्डकीको महत्व दर्शाउने, शालीग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालीग्रामको महिमा बारे प्रचार प्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउने अभिप्रायले महोत्सव गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो ।

महोत्सवमा कालीगण्डकी नदी र शालीग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र बृहत काब्यात्मक लगाएतका कार्यक्रम संचालन गरिने शर्माको भनाई थियो । महिला हित सहकारी संस्थाको अगुवाइमा हुने बिशष कार्यक्रममा २३ टिमले लोकगीत, तीज र असारे तथा रत्यौली भाखामा नदीको महत्व बताउने योजना बनेको सहकारीका अध्यक्ष लीला खड्काले बताउनुभयो ।

महोत्सवमा बिभिन्न धार्मिक स्थलबाट आउने भक्तजन र धार्मिक अगुवाहरुको सहभागिता रहने ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । बागलुङमा ६ बर्षअघि स्थापित शालीग्राम संग्राहलयमा १ लाख १५ हजार शालीग्राम संग्रह गरिएको छ । नदीको सभ्यता जोगाउन पहिलो दिनको कार्यक्रम अघि मालढुंगादेखि कलस यात्रासमेत संचालन हुने भएको छ ।