बा.न.पा द्धारा कर्मचारीकालागि एकमहिने सांकेतिक भाषा तालिम सुरु

/ प्रकाशित मिति :
बिहिबार, चैत्र ३០ २០७९

बागलुङ चैत ३० – बागलुङ नगरपालिकाले कर्मचारीहरुका लागि एक महिने सांकेतिक भाषा तालिम सुरु गरेको छ । नगरका कर्मचारी र बहिराहरु बीच सञ्चारको सहजताका लागि तालिम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

तालिमको उद्घघाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले बहिराहरुका लागि कार्यालयबाट सहज सेवा प्रवाह गर्न तालिम सहयोगी बन्ने खड्काले बताउनुभयो । ‘बाटोमा भेट्दा समेत नमस्कार गर्ने तर, सञ्चो बिसञ्चो सोध्न सञ्चारको समस्या हुने भएकाले तालिम आयोजना गरिएको हो’ खड्काले भन्नुभयो ‘सांकेतिक भाषाका आधारभुत बिषय मात्रै जानकारी हुँदा सेवा प्रवाह र सञ्चारमा सहजता आउँछ ।’
कर्मचारीका लागि सांकेतिक भाषा तालिमको आयोजना गरेर नगरपालिकाले बहिराहरुप्रति न्याय गरेको बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो ।

संघको समन्वयमा सञ्चालन हुने तालिममा हरेक दिन कार्यालय समय सकिएपछि कर्मचारीहरु सहभागी हुने छन् । सबै बिषयत शाखाका इच्छुक कर्मचारीलाई तालिममा सहभागिताका लागि अनुरोध गरिएको छ ।

तालिममा बहिरा संघका अध्यक्ष सन्तोष पौडेल र सचिव बासु थकालीले सहजीकरण गर्नुहुने छ । सांकेतिक भाषाका सामग्री, तालिमको पाठ्यक्रम, तालिम हल लगायतको व्यवस्थापन बागलुङ नगरपालिकाले गर्ने छ ।