गलकोट अस्पतालमा बिरामी बढ्दै

/ प्रकाशित मिति :
शनिबार, चैत्र २५ २០७९

बागलुङ, २५ चैत – बागलुङको गलकोटस्थित हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगर अस्पतालमा रुपान्तरण गरेपछि उपचार गर्न आउने बिरामीको संख्या बढ्न थालेको छ ।

व्यवस्थापकीय सुधार र चिकित्सकले सेवा दिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पवन हमालले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।

नगरबासीलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ आवश्यक गृहकार्य भईरहेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरबासी र छिमेकी पालिकाका नागरिकलाई लक्षित गरि अति आवश्यक स्वास्थ्य सेवा गाउँघरमै प्रदान गर्न अस्पतालले भुमिका खेलेको गैरे बताउनुहुन्छ ।

‘हामी नागरिकको स्वास्थ्यप्रति गम्भिर छौं, स्रोत साधनले भ्याएसम्म सेवा दिईरहेका छौं’ नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले भन्नुभयो । अहिले आवश्यक गुरुयोजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रयास भईरहेको डा. पौडेलले बताउनुभयो ।

२०१६ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र गतवर्ष गलकोट नगर अस्पतालमा स्तरोन्नती गरिएको थियो । सामान्य स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरु प्रयासरत रहेको उहाँको भनाई छ ।
स्वास्थ्यमा सामान्य समस्या हुँदा काठमाडौं, पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो । अस्पतालमा अहिले सेवा सुविधाको विषयमा दैनिक स्वास्थ्यकर्मीको समिक्षा बैठक बस्ने गरेको छ ।