गण्डकी प्रदेशमा चैते धानखेती घट्यो

/ प्रकाशित मिति :
बिहिबार, चैत्र २३ २០७९

बागलुङ, २३ चैत – गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।

चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८÷७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो ।

धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा आठ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ । आव २०७८÷७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव ६७ छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताउनुभयो ।

पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ छ । प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ ।
गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले कमी आएको छ । गत वर्ष चार लाख ६ हजार तीन सय ३६ मेट्रिक टन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन छ ।

अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको छ । गण्डकी प्रदेशमा बागलुङको गलकोट, बलेवा, ग्वालीचौर, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् ।