बेसाहाराको सहाराबन्दै मानवसेवा आश्रम बागलुङ सातौ बर्षमा प्रवेश

/ प्रकाशित मिति :
मंगलबार, चैत्र २१ २០७९

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २१ चैत – स्वदेशी दाताको सहयोगबाट सञ्चालित मानवसेवा आश्रम बागलुङ सातौं बर्षमा प्रवेश गरेको छ ।
आश्रमले सातौ बर्ष प्रवेशका अवसरमा एकबर्ष भित्रको आर्थिक प्रतिवेदन प्रस्तुत गरेर हिसाबकिताब सार्वजनिक गरेको छ ।

आश्रममा आयोजित कार्यक्रममा मानवसेवा आश्रमका संचालिका बिपना तामाङले आर्थिक बर्ष २०७८÷०७९ मा आश्रमलाई विभिन्न ब्यक्ति बाट ३५ लाख ५८ हजार ४४५ र अन्य सहयोगदाता बाट ६३ हजार ५४७ रूपैयाँ गरी ३६ लाख २१ हजार ९९२ रूपैयाँ सहयोग प्राप्त भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।आश्रमको विभिन्न शिर्षकमा एक बर्षमा ३५ लाख ९१ हजार ७७४ रूपैयाँ खर्च भएको उल्लेख छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ किनारा टोलमा स्थापित आश्रममा अहिले सडक मानव, अपाङ्ग र असहाय गरी ५१ जनाले आश्रय लिईरहेका छन् ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आश्रम संचालनका लागि नगरपालिकाले सदैब साथ दिईरहेको बताउनुभयो । उहाँले आश्रमलाई नगरपालिकाले दिने गरेको सहयोग लाई अझै बढाउदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो ।
धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले आश्रममा रहेका ब्यकिहरूलाइ औषधी उपचार गरेर सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रूपमा सेवा गर्नेे बताउनुभयो।

सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीले आश्रमको बिकासका लागि सबैको सहयोग र समर्थन जरुरी रहेको बताउनुभयो ।
सात बर्षको अवधीमा आश्रमले धेरैलाई सेवा दिएको र यहाँ आएपछि मानसिक र शारीरिक रूपमा समेत परिवर्तन आइ पारिवारिक पुनर्मिलन समेत गराउने काम गर्दै आएको आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । अर्का अभिभावक निर्मल बहादुर श्रेष्ठले ५ जनाले शुरूवात गरेको संस्थामा अहिले हजारौं ब्यक्तिहरू जोडिएको बताउनुभयो ।

‘बेसहाराका लागि सहारा’ बन्दै आएको मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा विसं २०७३सालमा पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ ।

बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ ।