चिल्ड्रेन लाईफका विद्यार्थीहरुद्धारा तित्याङका विद्यार्थीहरुलाई पोशाक

/ प्रकाशित मिति :
आइतबार, चैत्र १२ २០७९

रोहन जि.सी बागलुङ
बागलुङ, १२ चैत्र– चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका नि.मा.वि तहमा अध्ययनरत विद्यार्थीहरुद्धारा तित्याङका विभिन्न ३ वटा प्रा.विका विद्यार्थीहरुलाई स्पोटर्स ड्रेस (पोशाक) सहयोग हस्तान्तरण गरेका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका विभिन्न ३ प्राथमिक विद्यालयका करिब ८५ जना बालबालिकाहरुका लागि पोशाक सहयोग गरेको हुन् । अतिरिक्त क्रियाकलाप गर्दा खर्च घटाएर र खर्च बापत बाँकी रहेको रकमलाई अन्य कुरामा खर्च गर्नुभन्दा शैक्षिक साम्रगी, पोशाक लगायतका सामान सहयोग गर्दै आएको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले जन्मदिनमा चकलेट, केक तथा कार्यक्रमबाट बचेको पैसालाई बनभोज लगायतका क्रियाकलापमा खर्च नगरी विपन्न परिवारका बालबालिकालाई आवश्यक अनुसारको साम्रगीहरु सहयोग गर्दै आएको छ ।

बागलुङ नगरपालिका वडा नंं ९ को साविक वडा नं. ५ गामा स्थित तित्याङ प्राथमिक विद्यालय, साविक वडा नं. ६ मिस्नेरामा रहेको इन्द्र प्राथमिक विद्यालय र साविक वडा नंं ८ कमलडाँडा स्थित सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्पोटर्स ड्रेस सहयोग गरेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत सिम्रन थापाले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नंं ९ तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा सामाजिक कार्य प्रतिको चासो, भाव देख्दा एउटा सकारात्मक प्रभाव परेको बताउनुभयो । थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शिक्षामा गुणस्तरीय ढंगले विकास गर्न वडा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडावासी सम्पुर्णले महत्वपुर्ण भूमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङको व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राथमिक विद्यालयका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक विन्दु शर्मा, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक चिजा थापा मगर, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गर्नुभएको थियो ।
उक्त तित्याङ प्राथमिक विद्यालयमा हाल २५ जना, इन्द्र प्राथमिक विद्यालयमा हाल २६ जना र सरस्वती प्राथमिक विद्यालयमा हाल ३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।