राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा बागलुङ कालिका मन्दिरमा पुजाअर्चना

/ प्रकाशित मिति :
बुधबार, फाल्गुन १០ २០७९

 

बागलुङ, १० फागुन –राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा बिशेष पुजाअर्चना गर्नुभएको छ ।नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान बागलुङ आएकी राष्ट्रपति भण्डारीले बुधबार बिहान १० बजे राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा बिशेष पुजाअर्चना गर्नुभएको हो ।

उहाँ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको बिशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पुजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

राष्ट्रपति भण्डारीलाई कालिका भगवती गुठी, सांसद, जनप्रतिनिधी लगायत सर्वसाधारणले स्वागत गरे । राष्ट्रपति भण्डारीले कालिकाको बिशेष पुजाअर्चनापछि मन्दिरका मुल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहण गर्नुभयो ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उहाँलाई कृतज्ञता पत्र र बिशेष मायाको चिनो दिएर बिदाई गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचार प्रसार र बागलुङको बिकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरासहितको कृतज्ञतापत्र प्रदान गर्नुभएको हो । पहिलो महिला राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने गुठीले विश्वास गरेको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको संख्या थप बढ्ने विश्वास लिईएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ ।