पर्वतको फलेवास नगरपालिका स्थानीय पाठ्यक्रम कार्यान्यनयको तयारीमा

/ प्रकाशित मिति :
बिहिबार, पुष ७ २០७९

बागलुङ, ७ पौष –पर्वतको फलेवास नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न पाठ्यक्रमको प्रारूप तयार पारेको छ ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण आचार्यका अनुसार, स्थानीय समुदायमा रहेका विभिन्न पेसाकर्मी, सामाजिक संघसंस्था, शिक्षाविद्, शिक्षक, अभिभावक, विज्ञ लगायतको सहभागितामा पाठ्यक्रम तयार गरिएको हो । पाठ्यपुस्तक लेखन र छपाइपछि विद्यालयमा कार्यान्वयन गर्ने तयारीमा रहेको आचार्यले बताउनुभयो ।

कक्षा एकदेखि आठसम्म लागू हुने पाठ्यक्रमको नाम ‘हाम्रो फलेवास नगरपालिका’ राखिएको छ । सामुदायिक विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अंग्रेजी माध्यमको पठनपाठन भइरहेको फलेवासमा अब स्थानीय पाठ्यक्रम पनि लागू हुनेछ ।

नगरपालिकामा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय, मौलिक कला, कृषि तथा पशुपालन, रोजगारी, स्थानीय सीप, व्यक्तिका दैनिक व्यवहार र आनीबानी, स्वास्थ्य लगायतका विषय समावेश गरेर पाठ्यक्रम तयार गरिएको नगरपालिकाका प्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।

शिक्षा शाखाका अधिकृत टंकनाथ पौडेलले फलेवासमा करिब चार हजार बिद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने तयारी गरिरहेको बताउनुभयो । नगरपालिका शिक्षामा लगानी गर्ने कुरामा सकारात्मक भएका कारण पनि स्थानीय पाठ्यक्रम कार्यान्वयन हुन लागेको पौडेलको भनाई छ ।