पुष्पराज कम्पनीले उत्पादन गरेको दालमोट खानयोग्य नभएको ठहर

/ प्रकाशित मिति :
बुधबार, साउन २५ २០७९

बागलुङ, २५ साउन – बागलुङ बजारमा केही महिनादेखी बिक्रि वितरण हुदै आएको पुष्पराज दाल्मोट खान योग्य नभएको खुलेको छ ।
चितवनको पुष्पराज नामक कम्पनिले उत्पादन गरेको दालमोटको उत्पादन मितिमा लापरबाही गरेको पाईएपछि उपभोगयोग्य नभएको ठहर भएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च सहित प्रहरी र पत्रकारको टोलीले बुधबार अनुगमन गर्दा शिवधारा स्थित एक पसलमा सो कम्पनिको दाल्मोट फेला परेपछि नमुना संकलन गरेको छ ।

उक्त दाल्मोटको उत्पादन मिति नोभेम्वर सन २०२२ अर्थात आगामी मंसिर महिनाको राखिएको छ । नियोजित तरिकाले कम्पनिले लापरबाही गरेको ठहर भएमा खाद्य ऐन अन्तरगत कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।

आफु कहाँ सो कम्पनिको दाल्मोट ७ महिना पहिले देखीनै आएकोले बजारका बिभिन्न पसलहरुमा बिक्रिवितरण भईरहेको बागलुङ बजारका आधिकारिक बिक्रेता सुबर्ण स्टोर्सका सुबर्ण शर्माले जानकारी दिनुभयो । आँफुकहाँ खुल्ला बिक्रि नगरिने हुदा उत्पादन मिति बारे ध्यान नगएको उहाँको भनाई छ ।

आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पर्ने खालका गुणस्तरहिन सामग्री बेचबिखन गरेको पाईएमा जो कोही लाई कानुन बमोजिमको कारबाही गरिने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

अनुगमन टोलीले बुधबार बजारका बिभिन्न ९ वटा पसलको अनुगमन गरी म्याद गुर्जेका, मुल्यसुची नभएका लगायत गुणस्तरहिन सामग्री जफत गरी नष्ट गरेको थियो ।