बिश्व स्तनपान दिवसका अवसरमा रामरेखामा सचेतना कार्यक्रम

/ प्रकाशित मिति :
आइतबार, साउन २२ २០७९

बागलुङ, २२ साउन – बिश्व स्तनपान दिवसको अवसरमा बागलुङ नगरपालिका १ रामरेखामा सचेतना कार्यक्रम गरिएको छ । स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ भन्न नाराका साथ बानपा १ रामरेखामा सचेतना कार्यक्रम गरिएको हो ।

सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्तनपानको वारेमा सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । साउन १६ गतेदेखि शुरु भएको कार्यक्रम अन्तरगत वडा कार्यालयको आयोजना, वेलनेस टिम र रोट्रयाक्ट क्लव अफ बागलुङको समन्व्यमा कार्यक्रम गरिएको कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले गर्नु भएको थियो ।

बानपा १ रामरेखाका सुत्केरी तथा गर्भवती महिलाहरुको उपिस्थती रहेको कार्यक्रममा वेलनेस टिमका अध्यक्ष नितु खड्का र सदस्य प्रतिक्षा तिमील्सीनाले स्तनपान के हो, कसरी बच्चालाई स्तनपान गराउने र स्तनपान नियमित रुपमा गराएमा के फाइदा हुन्छ लगाएतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले ६ महिनासम्म नियमित स्तनपान गराएमा बच्चालाई बिरामी हुँदा औषधी बाहेक केहि पनि खुवाउन नपर्ने बताउनुभयो । उहाँले दिनरात गरेर कम्तीमा पनि दिनको १० पटक स्तनपान गराउन जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरको अध्यक्षता, वेलनेस टिमका अध्यक्ष नितु खड्काको स्वागत र रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष एवँ जोन १७ का जेडआरआर ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।