कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २८ २០७७

बागलुङ, २८ फागुन – सरकारले भारतबाट कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिलेभन्दा बढी मूल्य पर्ने देखिएको छ ।
यसअघि सरकारले २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरेको थियो । यसपटक भने भारतको सेरम इन्ष्टिच्युट अफ इण्डियाले प्रतिडोज ६ डलर माग गरेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले बताउनुभयो ।
‘हामीले कम्पनीलाई ५० लाख डोज खोप खरिदको लागि प्रस्ताव पठाएका छौं, त्यसको जवाफ भने आइसकेको छैन’ उहाँले भन्नुभयो, ‘कम्पनीका प्रतिनिधिहरुले यो पटक प्रतिडोज ६ डलर पर्ने जनाएका छन् ।’
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयको विशेष पहलमा सहुलियतमा खोप पाएको तिंकरीले बताउनुभयो । ‘आफ्नै देशको नागरिकलाई खोप सुनिश्चितता नभएसम्म सहुलियतमा खोप पठाउन उनीहरुलाई पनि आफ्नै बाध्यता छ’ तिंकरीले भन्नुभयो ।
उहाँका अनुसार, विभागले सकेसम्म सहुलियत मुल्यमा खोप पठाउन आग्रह गरेर प्रस्ताव पठाएको छ । कम्पनीसंग प्रतिडोज साढे पाँच डलरमा उपलब्ध गराउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार अहिलेसम्म ५० लाख डोज खोप खरिद गर्न सम्झौता भएको छैन ।