आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै,राष्ट्रपतिद्धारा शुभकामना ब्यक्त

/ प्रकाशित मिति :
सोमबार, फाल्गुन २४ २០७७

बागलुङ, २४ फागुन – आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( ८ मार्च ) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको विश्वव्यापी नारा ‘चुनौतीलाई स्वीकार गर’ भनिएको छ । नेपालमा भने ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ महिला दिवस मनाइँदैछ ।
सन् १९११ मार्च ८ का दिन महिला आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणबिरुद्ध आवाज उठाएको दिनको सम्झनामा आजको दिन महिला दिवस मनाउन थालिएको हो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भईन । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सोही दिनदेखी संसारभरका महिलाहरुले आफ्ना अधिकार स्थापितको माग गर्दै ८ मार्च लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउदै आएका छन् ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।