लोकमार्ग सडक कालोपत्रेको लागि ठेक्का खुल्यो

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, मंसिर २१ २០७७

जिल्लामा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोलपत्र आब्हान भएको छ ।
कालीगण्डकी करिडोर सडक पाल्पाले रानीपानी देखि फलेवास ढिकसम्मको सडक कालोपत्रेको लागि बहुबर्षिय ठेक्काको आब्हान गरेको हो । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाकमा अहिले स्तरोन्नतीको काम भइरहेको छ ।
सोहि खण्डमा चालु बर्षमा नै काम शुरु हुने गरी ठेक्का आब्हान भएको प्रतिनिधि सभाका सदस्य पदम गिरीले जानकारी दिनुभयो । सडक कालोपत्रेका लागि जनप्रतिनिधिहरुको निरन्तरको प्रयास सफल भएको सांसद गिरीले बताउनुभयो ।
कार्यालयले १ अर्व २४ करोड रुपैंयाको लागतमा सडक कालोपत्रेका लागि ठेक्का आब्हान गरेको हो । यस अघि सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु गरीसकेको छ ।
लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा रहेको छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ ।
सडक खण्डको रानीपानीदेखि फलेवास ढिकसम्मक स्तराउन्नतीको काम भने अनितम चरणमा पुगेको छ । यो सडकको सवै खण्ड पुरा हुँदा उत्तरदेखि दक्षिणी क्षेत्रको यात्रा सहज हुने भएको छ ।