अवसर दिन सकियो भने अपांगता भएका नागरिकको जीवनस्तर सुधार हुने

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर १९ २០७७

बागलुङ नगरपालिकालाई अपांग बालबालिकाको शिक्षाको क्षेत्रमा नमूना बनाउने योजना र कार्यक्रम ल्याउने सरोकारवालाले बताएका छन् ।
सबै प्रकारका अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि प्रदेश र नेपाल सरकारमा समन्वय गर्ने उनीहरुको भनाई छ । समस्यामा परेकालाई सहयोग गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने पनि नगरपालिकाबाटै पहल गर्ने उनीहरुले बताए ।
२९ औं अन्तराष्ट्रिय अपांग दिवशको अवसरमा नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उपप्रमुख सुरेन्द्र खड्काले योजना छनौटदेखि कार्यान्वयनमा अपांगता क्षेत्रको पहुँच बढाउने बताउनुभयो ।
उहाँले नयाँ प्रणालीको परिचयपत्र वितरणको काम थालनी गरिसकेको जानकारी दिनुभयो । खड्काका अनुसार, अहिलेसम्म बागलुङ नगरपालिकाले नयाँ प्रणाली अनुसार क बर्गको १४ वटा, ख बर्गको ५२ वटा ग बर्गको १८ वटा र घ बर्गको २ वटा परिचयपत्र बितरण गरिसकिएको छ ।
बागलुङ नगरपालिकाभित्र बहिरा, शारीरिक अपांगता, बौद्धिक अपांगता र दृष्टीविहिनको लागि आवाससहितको विद्यालय स्थापना भैसकेको उहाँले बताउनुभयो । ‘सबै प्रकारका अपांगको आवास भएकोले अब विकास र विस्तार गर्दा धेरै राम्रो हुन्छ’ उहाँले भने, ‘सिमित बजेटलाई पनि सदुपयोग गरेर अगाडि बढ्ने योजना छ ।’
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले शिक्षा र स्वास्थ्यको आधारभूत अवसर दिन सकियो भने अपांगता भएका नागरिकको जीवनस्तर सुधार हुने बताउनुभयो ।
उपप्रमुख सुरेन्द्र खड्काको अध्यक्षता र महिला विकास शाखाकी प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक गणेशबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नविन शिशिर बिक, धौलागिरी बहिरा बिद्यालयका प्रधानाध्यापक रेशम श्रीष, अपांग परिचयपत्र वितरण समितिका सदस्यहरु सन्तोष पौडेल, चिजा थापा, धर्मराज आचार्यसहित नेत्रहिन संघका अध्यक्ष कुमार पुन, बौद्धिक अपांग अभिभावक संघका सचिव इन्द्रा सापकोटा, बासु थकाली, बिनोद शर्मालगायतले बोल्नुभएको थियो ।