खाली रहेको विद्यालय भवन उपयोग गरेर काठेखोलामा कोभिड अस्पताल निर्माण

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर १९ २០७७

खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं. ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा अस्थायी कोभिड–१९ अस्पताल बनाईएको हो ।
गाउँपालिकामा कोरोना संक्रमितहरुको उपचारका लागि दश शैयाको अस्पताल निर्माण भएको हो । विद्यार्थी संख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाँभिएपछि भीमसेन प्राविको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
पहिले क्वारेन्टाईन बनाईएको भवनमा शैयाका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरेर अस्पतालको रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौं तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुईजना स्टार्फ नर्स करार सेवाका परिचालन भएका छन्भने एक जना कार्यालय सहयोगीले उनीहरुलाई सघाउने छन् ।


‘अस्थायी भएपनि अस्पताल हो, पूर्वाधार सम्पन्न बनाईएको छ’ प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले भने ‘मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।’ अस्पतालको अनुगमन गाउँपालिकाले गर्नेछ भने आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकालाई संघिय सरकारले अस्थायी कोभिड अस्पतालको लागि १० लाख उपलब्ध गराएको थियो । पाँच लाख रुपैयाँ कर्मचारीको व्यवस्थापन र बाँकी पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ ।
गाउँपालिकाले चिकित्सकको लागि आवेदन मागेपनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेबारी दिएको छ । अस्पतालमा रहेका संक्रमितलाई आइसोलेसनमा दैनिक ३ पटक खानाको व्यवस्था र स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।