पर्वत अस्पताललाई बेल्जियमबाट एक करोडका बेड उपहार

धौलागिरी एफ.एम. संवाददाता, पर्वत / प्रकाशित मिति :
बुधबार, मंसिर १७ २០७७

पर्वत अस्पताललाई करिब एक करोड मूल्य बराबरका आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त भएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार, बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वेपले ४५ ओटा अत्याधुनिक तथा विद्युतीय बेडहरू उपलब्ध गराएको हो । ती बेडहरूको मूल्य नेपाली ९८ लाख ९२ हजार आठ सय ६४ रुपैयाँ पर्छ ।
अस्पतालले यसै वर्ष ५० बेडको मान्यता पाउने प्रक्रिया सुरु भएपछि बेल्जियममा रहेका नेपालीहरूको माध्यमबाट ती बेडहरू पाउन सकिएको पहाडीले बताउनुभयो । बेडहरूको ढुवानीको लागि कुस्मा नगरपालिकाले ७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
अस्पतालको आवश्यकता र अनुरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, बेल्जियममा रहेका एनआरएनका कोषाध्यक्ष लोक दाहाल, लुम्बिनी गार्डेन फाउन्डेसनका अभियन्ता गोविन्द सुवेदी लगायतको पहलमा बेल्जियमको अस्पतालले ती कुनैपनि शुल्क नलिई उपलब्ध गराएको हो ।
पानी जहाजबाट भारतको कलकत्ता हुँदै नेपाल आइपुगेका ती बेडहरू बेल्जियमबाट पठाइएको ६ महिनामा पर्वत आइपुगेका हुन् । विद्युतमा जोडेपछि मात्र बेडका सबै सुविधाहरू प्राप्त गर्न सकिने बताउँदै अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले ती बेडहरू रिमोर्टबाट नियन्त्रणमा रहने जानकारी दिनुभयो ।
बिरामी र चिकित्सकको आवश्यकता अनुसार ती बेडका दुवै छेउ वा बिचको भागलाई छुट्टाछुट्टै उठाउन मिल्छ । बेडमा जान नसक्नेहरूका लागि होच्याउन मिल्ने तथा स्वास्थ्यकर्मीको सहजताको लागि अग्लो बनाउन मिल्ने लगायतका सुविधाहरू बेडमा राखिएका छन् ।