समुदायको सक्रियतामा चौरीपालन गरेर शिक्षकको तलब जुटाउँदै

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २០७७

विद्यालयमा अध्यापनरत नीजि शिक्षकको तलव जुटाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकियस्थल खोपारा लेकमा समुदायको सक्रियतामा चौरीपालन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका नीजी शिक्षकको तलबका लागी चौरीपालन गरिएको छ । महाविरको नेतृत्वमा अन्नपुर्ण गाउँपालिका– ६ र ८ मा रहेका विद्यालयको नीजी शिक्षकको तलव जुटाउन खोप्रा लेकमा एक सय ७० वटा भन्दा बढी चौरी पालन गरिदै आएको छ ।
चौरी हेरचाहका लागि मासिक १५ हजार तलव दिएर दूई जना हेरालु राखिएको अनपुर्ण गाउँपालिका– ५ वडा सदस्य धनबहादुर पाईजाले जानकारी दिनुभयो । स्थानियले चौरी पालन ब्यवसाय र सामुदायीक लज सन्चालनमा ल्याएको पाइजाले बताउनुभयो ।
चौरीको रगत र मासु विक्रीबाट बार्षिक हुने आम्दानी र खोप्रामा नै रहेको समुदायीक लजबाट हुने आम्दानीले विद्यालयका निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रागी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकास सम्बन्धि विभिन्न गतिविधिमा खर्च गरिएको पाईजाले बताउनुभयो ।
जाडोयाममा खोपारा लरेनी र जलजलामा र बर्खायाममा हिमालको काखमा लगेर चौरीलाई घुमन्ते शैलीमा हेरालु मार्फत पाल्दै आएको हेरालु जोशीराम पाईजाले बताउनुभयो । लजबाट भएको आम्दानीको ६० प्रतिशत पाउद्धार र ४० प्रतिशत नागिलाई दिने निर्णय भएको लजका अध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।