पर्वतको हिलेखोला–कार्किनेटा सडकको काम तिव्र गतिमा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर १२ २០७७

पर्वत जिल्लाको फलेवास नगरपालिकाको प्रमुख नाकाको रुपमा रहेको हिलेखोला कार्किनेटा सडकको काम तिव्र गतिमा अघि बढेको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भैरहेको उक्त सडक अन्तरगत स्याङजाको नौडाडादेखि जुग्ले हिलेखोला हूँदै पर्वतको कार्किनेटासम्मका लागि कालोपत्रेको काम भइरहेको छ ।
सो सडक खण्डको हिलेखोला देखि कार्किनेटासम्मको खण्ड पर्वत खण्ड पर्दछ । उक्त खण्डमा गत बर्ष देखि पूर्वाधार विकास कार्यालयले कालोपत्रेको काम शुरु गरेको हो । सडक शंकरपोखरीदेखि बागलुङको जैमिनीघाटसम्म एका तर्फ जोडिन्छ भने अर्को तर्फ पर्वतको महाशिला पनि जोडिन्छ ।
यसैगरी सोहि सडक जिल्ला सदरमुकाम कुश्मा बजारसम्म कार्किनेटा, खौला, ठुलिपोखरी पकुवा हुँदै जोडिन्छ । केहि बर्ष अघिसम्म सडक सञ्जाल नजोडिदा जिल्लाकै प्रमुख नाकाको रुपमा रहेको उक्त सडक सडक सञ्जालको विस्तार भएपछि भने ओझेलमा परेको थियो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त सडकलाई फलेवास नगर क्षेत्रको प्रमुख रणनैतिक सडकको रुपमा विकास र विस्तार गरिने बताउनुभयो ।
चालु आर्थिक बर्ष भित्र कालोपत्रे गरिसक्ने गरि हिमदुङ एण्ड थोकर कम्पनी प्रालि काठमाडौलाई निर्माणको जिम्मा दिइएको उक्त सडकको कुल लागत १६ करोड ६ लाख ४३ हजार नौ सय ९० रुपैयाँ रहेको छ । निर्माण गरिने सडक खण्डको लम्बाई ५ दशमलव ३ किलो मिटर रहेको पूर्वाधार कार्यालय पर्वतका निमिक्त प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।